Tuesday, May 18, 2010

धर्म

मानव–संस्कृतिको मूल आधारः धर्म

डा. तुलसी भट्टराई

पूर्वीय जीवन दर्शनका चार पुरुषार्थ मानिएका छन्– धर्म, अर्थ, काम र मोक्ष । पूर्वीय जीवन–जगतमा यी पुरुषर्थ–चतुष्टयको अत्यन्त ठूलो महत्व रहेको छ । पुरुषर्थको पूर्णतामा धर्मको प्रमुखता हुनु नै यसको विशेषता हो, पूर्वीय जीवन दर्शनको वास्तविकता र मर्म बुझ्नु धर्मको स्वरुप जान्नु आवश्यक छ । पूर्वीय दर्शनमा धर्मको तात्पर्य ईश्वरको कुनै नाम, रुप र त्यसको उपासनाको कुनै विशेष विधिमा मात्र आधारित रुढिवादी सम्प्रदाय विशेष होइन । पाश्चात्य जगत्मा मात्र यस्तो एउटा नाम विशेष, अथवा रुढि परम्परासँग सम्बद्ध मान्यतालाई धर्म भन्ने गरिन्छ । पूर्वीय जगत्मा यसरी एउटा ईश्वरीय नाम विशेष अथवा कुनै महापुरुष आदिका मतना चलेको मान्यतालाई धर्म भनिदैन– त्यो वस्तुतः सम्प्रदाय कहलाउँछ । एकाङ्गी विषय सम्प्रदाय मानिन्छ । यस्ता न त रुढीवादी परम्परामा आधारित हुन्छन् र पूर्णतया एकपक्षीय एउटा समुदाय विशेषसँग सम्बद्ध हुन्छन् ।

धर्म ः धारणगर्नु, ग्रहणगर्नु कुनै विशिष्ट व्यक्ति, महापुरुष, पूजनिय व्यक्तित्व, आदर्श ग्रन्थ आदिका माध्यमबाट पालना गरिने कर्तव्य व्यवहारको नाम– धर्म हो । जुन काम गर्नाले अरुको भलाई हुन्छ, पीर पर्दैन, आत्मतृप्त मिल्छ, सर्वजनहितकारी काम हुन्छ– त्यसको अन्तस्र्वरुप धर्म हो । न्याय, कर्तव्य, विवेक, सदाचार, नैतिकता एवं इमान्दारीपूर्वक गरिने काम र यसबाट उत्पन्न भावको नाम धर्म, कसैलार्य नबिझाउने भलो हुने काम गर्नु धर्म हो । शास्त्रीयसार–परोपकार धर्म हो । धर्ममानव निर्मित होइन, वस्तुतः मानव स्वीकृत र गृहीत विषय हो । आफ्नै भलाईका लागि आत्मविकासका निम्ति गृहीत र स्वीकृत विषय हो धर्म । धर्म अनापदिकालदेखि सनातन रुपमा अनवरत चल्दै आएको छ । कोशी गंगा प्रवाह हो धर्म । अनन्त र निरन्तर प्रवाहमान–नित्य नवीनतावाहक तत्व धर्म ।

धर्म जविनको एउटा व्यापक आस्था हो । धर्म मनुष्य जीवनका संस्कृतिको आधार हो । मानव जीवनका समग्र पक्षलाई धारण गर्ने क्षमतावान् तत्वलाई ‘धर्म’ भनिएको हो । धारणत् धर्म समस्त मनुष्य जीवनका संस्कृतिको आधार हो । मानव जीवनका समग्र पक्षलाई धारण गर्ने क्षमतावान् तत्वलाई धर्म भनिएको हो । धारणत् धर्म समस्त मनुष्य–जीवनको आधारभूमि यो धर्म ईश्वरको कुनै एउटा नाम, रुप र उपासनाको कुनै एउटा विधिभित्र सीमित हुन सक्दैन । धर्मभित्र मनुष्य जीवनका सबै मूलतत्व निहित हुन्छन् । धर्मद्वारा मनुष्य पशुबाट पृथक भएर मनुष्यत्व ग्रहण गर्दछ । त्यसैले मानवीय जीवन र संस्कृतिका अनेकौँ आवश्यक गुण यसमा सन्निहित छन् धर्मशास्त्रकारहरुले यी तत्व र गुणहरुको विविध रुपले निरुपण गरेका छन् । मनुस्मृतिमा धर्मका दश लक्षण देखाइएको छन्–

धृतिःक्षमा दमोऽस्तेयं शौचमिन्द्रिय निग्रहः

धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।

(मनुस्मृति ६६÷६)

अर्थात– धृति, क्षमा, दम, अस्तेय, शौच, इन्द्रियनिग्रह, धी, विद्या, सत्य, अक्रोध– यी दशवटा धर्म लक्षण मानिएका छन् ।

धृति ः को अर्थ हो धैर्य । धैर्य धर्मको आधार हो । यो मनुष्यको आत्मसंयम– प्रकृतिनियन्त्रणको सूचक हो । यसको निग्रह नै मनुष्य संस्कृतिको आधार हो यसैकारण धृति (धैर्य) धर्मको भूमिका हो । प्रकृतिको संस्कारबाट धर्म र संस्कृतिको उदय हुन्छ । सम्पूर्ण मानव प्रकृतिको नियन्त्रक र सञ्चालक भएको हुँदा ‘धृति’ धर्मको प्रमुख आधार तत्व हो ।

क्षमा ः मानव व्यवहारमा धृतिलाई अभिव्यक्त गर्ने काम क्षमाले गर्दछ । क्षमा– भन्नाले सहनशीलता र सहिष्णुता– गुणको बोध हुन्छ । सामाजिक व्यवहारमा मनुष्यका धैर्यको परिणाम सहिष्णुता हो । अरुको दोष, अपराध जस्ता कुराहरुबाट कुनै प्रतिक्रिया–प्रभाव ग्रहण नगर्नु– क्षमा दिन सक्नु मानवको अति ठूलो गुण हो । मानव प्रतिक्रियाको प्रेरणा र क्षमता दुईवटै प्रकृतिगत हुन् । मनुष्यको उच्चता–श्रेय, संयम र सहिष्णुतामा निहित छ । धृति यस संयमको जग हो र क्षमा संयमको व्यवहार हो !

दम ः इन्द्रिय दमनको नाम हो–दम । दम रोक्नु, दबाउनु हो । मनुष्यका प्राकृतिक प्रतिक्रियाहरुको आवेग इन्द्रियहरुको उद्वेगद्वारा प्रकट हुन्छ । क्षमा मूलतया मनको वृत्ति हो । परन्तु उसको अभिव्यक्ति जुन प्रकृति नियन्त्रणमा हुन्छ त्यो बाह्य रुपमा इन्द्रियहरुको आवेगलाई रोक्नु हो । यसै रोक्ने प्रक्रियालाई दम भनिन्छ । दम–क्षमाको व्यवहार तन्त्र हो । इन्द्रियहरुका वाह्य दमनले गर्दा उत्पन्न कारण र फल दुवै आन्तरिक र मानसिक बन्न पुग्दछन् दमनको स्वरुप–शान्ति र लक्षणसंयम हो । यसरी मानसिक शान्ति शम हो र शम नै दम हो । शम–दमको मानसिक पक्ष हो । यी दुवैको अन्योन्याश्रित सम्बन्ध छ । शम र दम युग्म स्वरुप हुन् ।

अस्तेय ः को अर्थ चारी नगर्नु । अर्काको चीज सम्पत्ति आदि छलछाम गरेर अथवा बलपूर्वक लैजानु चोरीको स्पष्ट र स्वीकृत रुप हो । चोरीको वास्तविक अर्थ धन–सम्पत्तिप्रतिको अनुचित लालसा कामना गर्नु हो । मूलतया आर्थिक अषन्तोषले गर्दा चौर्य इच्छा जागृत हुन्छन् आर्थिक अभावबाट पीडित भएर चोरीमा संलग्न व्यक्ति सामाजिक दृष्टि एवं न्यायको दृष्टिबाट अपराधी ठहरिए पनि यथार्थमा चोर र अपराधी ती व्यक्तिहरु हुन् जसले आफ्ना आवश्यकता भन्दा बढी सञ्चय गरेर अरुको समेत भाग हर्दछन् । विधि–विडम्बना यस्तो छ ती चोर अरुको भाग हरण गर्नेहरु नै साहू, धनीमानी सामाजिक प्रतिष्ठा प्राप्त गर्ने ठूला व्यक्ति बनेका हुन्छन् । मानवीय संस्कृतिको एउटा मुख्य विडम्बना हो यो । पछि गएर यस विषयमा संशोधन हुँदै जाला । याथार्थमा अस्तेय भन्नाले आर्थिक सन्तृष्टि हो । वास्तवमा कुनै पनि व्यक्तिले आफ्नो निश्चित आवश्यकताको परिपूर्ति भएपछि अरु धेरै संग्रहको कामना नगर्नु ‘आस्तेय’ हो । वैभव–धनधान्यादिको आकांक्षामा आश्रित व्यापार ‘स्तेय’ (चोरी) मान्छि । सन्तोष, धृति, क्षमा आदि प्राप्तिका निम्ति पनि ‘आस्तेय’ आवश्यक छ । जीवनमा असहिष्णुता र अधैर्यले नै अनुचित लोध–लिप्सा बढाउँछ ।

शौच ः को अर्थ हो पवित्रता । यो पवित्रता शरिरको बाह्य पवित्रता मात्र होइन । शौचको वास्तविक तात्पर्य मनको आन्तरिक पवित्रता हो । यस्तो पवित्रता विचार र भावनाको परिष्कारबाट प्राप्त हुन्छ । दम र शम जस्तै शोचका पनि बाह्य र आभ्यान्तर रुप परस्पर आश्रित छन् ।

इन्द्रियनिग्रह ः यसको अत्यन्त महत्व छ मनुष्य जीवनमा । इन्द्रियहरुको आवेग रोक्न नसक्ने व्यक्तिले कहिल्यै पनि जीवनमा सुख–सन्तोष प्राप्त गर्न सक्दैन । इन्द्रियहरुलाई आफ्नो अधीनमा राखेपछि समाजमा शिष्ट–सभ्य व्यवहार गर्न सकिन्छ । माथि उल्लेख भएका अरु तत्वहरु यसैभित्रका स्वरुप हुन् भने हुन्छ, अझ सजिलै गरी बुझ्ने हो भने संयमको अर्को नाम हो– इन्द्रियनिग्रह । वास्तवमा इन्द्रियनिग्रहकको नाम सभ्यता पनि हो ।

धी ः को तात्पर्य– धारण गर्न सक्ने वृद्धि हुनु । तत्वज्ञान हुनु । सङ्कल्प–विकल्प तर्क वितर्क आदि अनिर्णित स्थितिमा दृढ–निश्चय गर्न सक्ने र यपयुक्त निर्णयलाई जीवनको निश्चित निष्ठा बनाउने बृद्धि ‘धी’ अर्थात आत्मज्ञानको आधार हो । सुसंगठित चरित्र, निश्चय निष्ठाको माध्यम ‘धी’ हो । राम्रो प्रज्ञालेमात्र विभिन्न आवेगलाई रोक्न सक्छ ।

विद्या ः ले धी अथावा बृद्धिको विकास गर्दछ । विद्या भनेको आत्मज्ञान हो । आत्मज्ञान युक्त विद्या अत्य समस्त लक्षहरुको पनि आधार हो ।

सत्य ः विद्याको सार हो । प्रज्ञाको आलोकीय शिखर समान सत्यले सम्पूर्ण जीवनपथलाई प्रकाशित गर्दछ । ‘सत्य’ केवल यथार्थ बाह्य प्रवचन मात्र होइन । वस्तुतः मन–वचन र व्यवहारको एकरुपता र सरलता नै सत्यको प्रमुख लक्षण हो ।

अक्रोध ः क्रोध नगर्नु । अक्रोध–क्षमाकै अर्को उदाहरण हो । अक्रोध वैरभाव, इष्र्या, विद्वेष, कलह आदि जन्माउँछ । क्रोध नै मनुष्यको सबैधन्दा ठूलो शत्रु मानिएको छ । त्यसकारण अक्रोध–रिस आवेगबाट मुक्ति हुने अवस्था नै जीवनको सफल र सार्थक पक्ष हो र ठूलो धर्म पनि हो ।

यसप्रकार–धर्मका उपयुक्त दशवटै लक्षणहरु परम्परा प्रभावित र आश्रित छन् । कुनै पनि एकको अभावमा अरु अधुरै रहन्छन् ।

‘धर्म’ भन्ने विषय जीवनको एउटा व्यापक संस्कार हो । यो कुनै परिभाषा वा लक्षणहरुभित्र अटाउन सक्तैन तापनि यी तत्वहरु धर्मका द्वारसम्म पुग्ने माध्यमहरु हुन् जीवनका सम्पूर्ण परिस्थितिहरु अनन्त भए झैँ धर्मको स्वरुप पनि अनन्त छ । धर्म– मानवीय वृत्ति हो । लक्षणहरुद्वारा इन्द्रियहरुका विभिन्न आवेग–प्रत्यावेग रोकेर मानवलाई मानवीय व्यवहार प्रदान गरिने हुँदा यी लक्षणको महत्व धेरै छ । सचेलत र संयम नभइकन मानवीयता प्राप्त हुन सक्तैन । मानवीयता धर्मको स्वरुप हो । यी दशलक्षण धर्मका विभिन्न साधन हुन् । मानिसले यी लक्षणहरुको क्रामिक साधना गरेर इन्द्रजयी हुन सक्नुपर्छ । इन्द्रियजयी व्यक्ति नै सदा समग्र कार्यमा विजयी हुन सक्छ । धर्मको पालना भनेकै यही हो । हिंसा नगर्नु, चोरी नगर्नु, सधैँ सत्य बोल्नु, शुद्ध आचरणमा बस्नु अनि इन्द्रियहरु नियन्त्रणमा राख्नु । प्रत्येक व्यक्तिले आफ्नो जीवनमा यति मात्रै गर्न सक्ने हो भने धर्मको भण्डार नै प्राप्त हुन्छ भनेर ठूला ठूला ज्ञानी ध्यानीहरुले बताएका छन् ।



विश्वका वैदिकहरुलाई एकै सूत्रमा आबद्ध गरौँ !

वेद साधारण मानवीय कल्पनाको वस्तु होइन स्वयं परब्रह्म–परमात्माबाट प्रवाहति भएको ज्ञानगङ्गा हो अतः वेदलाई अपौरुषेय भनिन्छ । वैदिकशास्त्रमा हिन्दूहरुको विश्वास छ वेद स्वयंमा परमात्माका अनुग्रहमा ब्रह्माजी र अन्य वैदिक ऋषिमुनीहरुमार्फत् चलिरहेको श्रृष्टि चलाई राख्ने कार्यको चिन्तन पथप्रदर्शक हो, ज्ञानचक्षु हो र एक व्यवस्थित सामाजि संविधान हो ।

यो संविधान सफलिभूत बनाउन परासर र वेदव्यासद्वारा वेदलाई सम्यक ढङ्गले विभाजन गरिदिनुभयो । त्यसैका आधारमा गृहसूत्रादि नियमहरु निर्माण भए । त्यसै श्रुतिपरम्पराका आधारमा पछि अठ्ठार पुराणहरु, महाभारत आदि शास्त्र र उपनिषदादि अमोध निधिहरुसाथै ज्योतिष, तन्त्र, मीमांसा, दर्शन आदि शास्त्रहरु पनि निर्माण एवं वृद्धि हुँदैगए । भविष्यका मानवसमाजको सुसञ्चालनमा सजिलो होस् भन्ने विचारबाट मानव जीवनोपयोगी हुनेगरी वेदकै आधारमा धर्मशास्त्रादि तयार गराई आजसम्म त्यसकै आधारमा सनातन कर्मकाण्डहरु चल्दै परिमार्जन गर्दै र युगानकूल हुँदै आएको सर्वविदितै छ । यजुर्वेदको यो महामन्त्र साक्षि छ । ‘नान्यः मन्था विद्यतेयनाय’ धर्म, अर्थ, काम र मोक्षका निमित्त वैदिक, सनातन धर्मलाई छोडेर अर्को सुगम र परिष्कृत बाटोको विकल्प छैन ।

वैदिक सनातन मातृकुक्षभन्दा पनि अति उत्तम मन्दिर हो ः अनन्त कालदेखि चलिआएको वेदरुपी वृक्षबाट फैलिएको सनातनी हाँगाहरुलाई आत्मसात गरेर हाम्रा महान मनीषिहरुले खोज गरेका, मानवोचित मानेर कायम गरेका एवं तत्कालीन परिवेशमा समुचित ठह¥याएर चलाइएका सबै सनातन परम्पराहरु धर्मका रुपमा हाम्रासाथमा अवस्थित छैन तसर्थ यो सनातन परम्परा विज्ञान र दर्शनहरुले आँकलन गरेको आकाश समान अनन्त छ । सत्यरुपी हीरामोतीले निर्माण गरेको र ज्ञानरुपी सुवर्णको छाना लगाएको यो हाम्रो वैदिक सनातनरुपी घर उत्तम मानवीय पहिचानका लागि मातृकुक्षभन्दा पनि अति उत्तम मन्दिर हो ।

प्राचीनकालमा वैदिक धर्मानुयायी ऋषिमुनि, तपस्वीहरुप्रति भएका दानवी दुस्प्रयास, पुराण एवं इतिहासहरुमा उल्लिखित भएका छन् । औरङ्गजेव जस्ता दुष्टात्मा अतिक्रमणवादीहरुमा प्रयासबाट समाप्त हुनलागेको वैदिक सनातन परम्परालाई श्री आद्य शङ्कराचार्यका भगिरथ प्रयासबाट वचाएका इतिहासका पानाहरु हामीसँग हाम्रा मार्गनिर्देशकका रुपमा खडा छन् । त्यस्तै गुगीन आवश्यकताअनुसार रामानुजाचार्यलगायतका धार्मिकजनहरुबाट विविध सम्प्रदाय खोली रक्षा गरिएको र स्वामी विवेकानन्द, दयानन्द सरस्वतीलगायतका महामनीषिहरुले पनि कठोर तपस्या र तत्जन्य सुपरिस्कारयुक्त प्रयोग गरेर वैदिक सनातनको रक्षा एवं उन्नयनको महत्तम कार्य गरेको श्वार्णाक्षरमा लिखित इतिहास हामीसँग साक्षी छ ।

स्वधर्मे निधनं श्रेयः परधर्मो मयावह ः आज हामी वैदिक हिन्दूहरुले आफू आफूमा मैत्रीभाव एवं समन्वयात्मक सम्बन्ध राखी हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । धर्म परिवर्तन, माता परिवर्तन गर्नु समान हो । यो कर्म निषेध छ भन्ने र ‘स्धर्मे निधनं श्रेयः परधर्मो भयावहः’ जस्ता ज्ञानवर्धक सूक्तिहरुका व्यापकताका माध्यमले वैदिक हिन्दूहरुलाई सुदृढ र व्यापक बनाउँदै धर्म परिवर्तन जसता अनुचित कृत्यलाई निरुत्साहित गराउन पछि नपरौँ ।

हामीले दृष्टि दिनुपर्ने अत्यावश्यक कुराहरुमा यदाकदा इतरवैदिक धर्मको बाहुल्य भएका मुलुकहरुमा रहेका अल्पसंख्यक वैदिक हिन्दूहरुमाथि भइरहेको अपमान, हिंसा, हत्याजसता पीडाहरु, दुःखहरु पनि हो । अन्यान्य सम्प्रदाय र धर्महरुका अतिक्रमणले आजको विश्वमा यो उपक्रम दिनानुदिन बढ्दै गइरहेको बुझिन्छ । हामीले युग दायित्वलाई बुझेर समयमै समुचित कदम चाल्न सकेनौ भने यस हिमाली भूभागमा पनि त्यस्तो गति भोग्नु नपर्ला भन्न सकिन्न । अतः कहिल्यै हाम्रो नेपलमा त्यस्तो दुर्दिन नआओस भन्ने विचारबाट जातिपाति, छुवाछुत जस्ता आन्तरिक कुभावना हटाई वैदिक सनातनहिरु जो, जतिछौँ एकसूत्रमा आबद्ध भई धर्म परिवर्तनकारीहरुलाई परास्त गरौँ; ‘संघे शक्ति कलौयुगे’ लाई वसतुतः साकार पार्दै ‘समस्त वैदिक सनातनीहरु एक हौँ’ भन्ने प्रण गरौँ ।

‘वैदिक उद्बोधनका मार्गमा अघि बढौँ !’ ः हामी वैदिक सनातन धर्मालम्बीहरुका बीचमा विद्यमान जातजाति, उचनीच जस्ता भेदभावको अवैज्ञानिक प्रयोगले गर्दा गुण कर्मका लागि भउको भेदलाई जातिका रुपमा लगिएको र तत्जन्य प्रभावबाट परिणतिले गर्दा समदर्शी पण्डितहरु पनि अन्तरात्माको विवेक एवं बृहत मानवीय संवेदनामा पछि परेको देखिन्छ ।

हामी वैदिक सनातनीहरुले यस परिप्रेक्षमा सबैलाई मान्यहुने गरी ‘कलौ तन्त्रोदिता मन्त्रा’ जस्ता उक्तिलाई साकार गराउन तन्त्र र पौराणिक पद्धतिद्वारा प्रचलित भाषाका कर्मकाण्ड विधिका ग्रन्थहरु तयार गराई तमाम वैदिक हिन्दूहरुलाई आहरशुद्धि, कृयाशुद्धि, व्यवहारशुद्धिका माध्यमबाट तदनुकूलको कर्मकाण्ड प्रशिक्षण दिलाई, मन्दिरप्रवेश गर्न, हवन, श्रद्धादि क्रिया, र वैदिक उद्बोधनको मार्गमा अघि बढौँ !’ भन्ने भावनालाई साकार पार्नु परको छ ।

विश्वस्तरमा नै वैदिक सनातनको नेतृत्व प्रदान गरौँ ः हाम्रो मुलुकमा धर्म सापेक्षताको संवैधानिक संरक्षण छ । हाम्रो संरक्षक हिन्दू सम्राटका रुपमा संवैधानिक राजा होइवक्सन्छ र प्राचीनकालदेखि नै हिमाली संस्कृतियुक्त नेपालभूमिमा धर्म र संस्कृतिको प्रतीकका रुपमा राजतन्त्रात्मक सत्ता आजसम्म चलिरहेको छ । यो हामीलाई अत्यन्तै अनुकूल स्थिति हो । पशुपतिनाथ जस्ता धर्मका उच्चतम धरोहर पनि हाम्रै देशमा रहेका छन् । हिमवतखण्ड पवित्र भूमि नेपालको गौरवगाथा विविध ग्रन्थहरुमा वर्णित छन्–

कृते सत्यवती ज्ञेया त्रेतायांच तपोवती ।

द्वापरे मुक्तिसोपान कलौ नेपालीका पुरी ।।१।।

सत्ययुगमा नेपालको नाम सत्यवती थियो, त्रेतायुगमा तपोवती भयो, द्वापरयुगमा यस देशको नाम मुक्तिपुरी भयो र कलियुगमा नेपालपुरी नामले पशुपतक्षेत्रका रुपमा पावन र प्रसिद्ध भयो ।

पशुपति समो लिङ्ग वागमती समोनदी ।

गुह्यकाली समोपीिठ नास्ति ब्रह्माण्ड गोलके ।।२।।

–हिमवतखण्ड नेपाल महात्म्य

ज्यातिर्लिङ्गमा पशुपति समान पृथ्वीमा अर्को लिङ्ग छैन, वागमतीसमान उत्तम र गह्यकाली समान अर्को उत्तम पीठ विश्व ब्रह्माण्डभरिमा छैन । यस्तो पवित्र भूमि नेपालमा हामीलाई वैदिक सनातन धर्मरक्षाका लागि यथेष्ट अनुकूलता छ । यस परिप्रेक्ष्यको उचित सदुपयोग गर्दै वैदिक सनातनको रक्षा, उन्नयन र विस्तार गर्नु हाम्रो परम दायित्व हो ।

वैदिक सनातन कर्मकाण्ड महासंघको राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा सङ्गठन विस्तार गरी यसका माध्यमबाट सम्यक प्रचार–प्रसार, प्रशिक्षण यज्ञहरु गर्दै विश्वका वैदिकतालाई एकै सूत्रमा आबद्ध गरी विश्वस्तरमा नै वैदिक सनातनको नेतृत्व प्रदान गरी वैदिक सनातन हिन्दू राष्ट्र नेपालको गौरव बढाउन पाछि नपरौँ ।

नेपाली दाजु–भाई, दिदी–बहिनीहरु ! वैदिक सनातन कर्मकाण्ड महासंघ नेपालको पुनरुत्थान र जागरण गर्ने उद्देश्य लिएर आरम्भ गरिएको यो पुनीत महायज्ञमा सहाभागी भई यस महासंघको २०६५ पौषमा जारी गरीएको वैदिक सनातन कर्मकाण्डसम्बन्धी काठमाडौँ घोषणालाई साकार पार्ने सतत कार्यमा संलग्न हुन समस्त धर्मप्रेमी, सज्जन महानुभावहरुमा यो निवेदन समर्पण गर्दछु । अस्तु ।



धर्म र कर्मकाण्डमा सामयिक सुधारको आवश्यकता

धर्म र कर्मको जन्म समयअनुसार हुन्छ । समय र परिस्थितिमा परिवर्तन हुँदै गएपछि स्वभावैले धर्म र कर्ममा पनि परिवर्तन हुँदैजान्छ । यो कुरा संसारमा आजसम्म अस्तित्वमा आएका सबै धर्महरु र तिनीहरुसँग सम्बन्धित कर्मकाण्ड अथवा मानवजातिले गर्ने सबैखाले कर्म (काम) हरुमा प्रष्ट रुपले देखिँदै आएको छ ।

वैदिककालको पूर्वाद्र्धमा धर्म यज्ञ–प्रधान थियो । शुरुका देवताहरु अग्नि, वायु, नदी, सूर्य, चन्द्र सोमलता आदि प्राकृतिक तत्व थिए । यज्ञ पशुबलिमा आधारित थियो । अजामेध, अश्वमेध, गोमेध आदिको व्यापक प्रचलन थियो । त्यसबेला वैदिक आयआर्जनहरु जंगली घुमन्ते अवस्थामा थिए । प्राकृतिक फलफूल, कन्दमूल र शिकारबाट देवताको पूजा गर्ने चलनबाटै यज्ञको विकास भएको हो ।

पशुपालक चरणमा प्रवेश गरेपछि पनि लामै समयसम्म उनीहरुको धर्म, यज्ञ र बलिप्रधान नै रह्यो । जब उनीहरु कृषिको चरणमा प्रवेश गरे, तिनको आहारमा जौ, गहुँ, मास, मुग आदि अन्न सामिल हुनथाले । कृषिको विकासनिम्ति गोरुले जोत्नुपर्ने, गाडा तान्नुपर्ने, घोडामा चढेर शत्रु कबिला र जंगली जन्तुहरुबाट आफ्नो र खेतीको रक्षा गर्नुपर्ने जस्ता समस्या आए । त्यसबेला कृषिमा अघि बढेका कबिलाहरुले पशुबलिको सट्टा अन्नको चरु होमेर यज्ञ र पूजा चलाउन थाले ।

कृषिको पहिलो चरण (भष्मखेतीको चरण)मा उनीहरुले आफ्ना पूर्वजहरुलाई देवताको रुपमा पुज्न थाले । त्यसबेला इन्द्र, वरुण, यम आदि देवता देखापरे । इन्द्र र यम शुरुमा आर्यहरुकै गणका नेता थिए । उनीहरु गणहरुसँग सँगसँगै हिँड्थे, सँगै खान्थे । जब पूर्वजन्म र परजन्म इहलोक र परलोकको कल्पना भयो तब इन्द्र स्वर्गका र यम नर्कका अधिपति बनाइए । समाजमा कृषिको विकास हुन थालेपछि इन्द्रलाई वर्षाका देवताको पनि मान्यता दिईयो । समाजमा श्रमविभाजन र दासप्रथा बढेपछि र शिल्पको विकास हुन थालेपछि ब्रह्माको मान्यता स्थापित भयो ।

समाजको विकास त्यहाँसम्म आइपुग्दा पनि पुरानो पशुबलिमा आधारित यज्ञ प्रथाका अवशेषहरु बाँकी थिए । ती कुरा समाजको विकासमा बाधक बन्न थाले र त्यसको विरोध बढ्नथाल्यो । पशुको मासुका ठाउँमा दूध, दही र घ्यूलाई आहार बनाउने पशुलाई खेती, यातायात आदितिर लगाउने अभियानलाई तीव्र पार्न गोपालक कृष्ण र हलंधर बलराम देखापरे । त्यहाँसम्म पनि इन्द्रहरु यज्ञ र पशुबलिकै पक्षमा थिए । यसै द्वन्द्वले इन्द्र र कृष्णका बीचमा यद्ध भयो । इन्द्र संस्कृतिले हा¥यो, कृष्ण संस्कृतिले जित्यो । त्यसपछि समाजका निम्ति उपयोगी काम गर्ने वीर योद्धा र ज्ञानीजनहरु न्यूँदै नै देवताका रुपमा सम्मानित र पूजित हुनथाले ।

पशुहरुको रक्षा र युद्ध, हिंसा आदिका विरोधकाबाट समाजमा शान्ति स्थापित भई कृषि शिल्प, उद्योग र व्यापारको विकास हुनसक्थ्यो । समाजको यसै आवश्यकताले मानव चिन्तनमा नयाँ सोचहरु आउनथाले । कृष्ण संस्कृतिको अझ व्यापक र विकसित रुप विष्णु संस्कृति हो । समाज धनधान्यकी लक्ष्मीले समृद्ध हुनथालेपछि लक्ष्मीका पति रुपमा विष्णु देवता स्थापित भए । चिन्तनहरु अझ अगाडि बढे । दर्शनका विविध शाखाहरु देखापरे, समाजमा धेरै देवताको स्थिति देखिएपछि त्यसले पनि मतमतान्तर जन्माएकाले मानिसको चिन्तन र माग एकेश्वरवादतिर ढल्कियो । यसै सोचले सर्वव्यापी ईश्वरको धारणा जन्म्यो । वैदिक ऋषिहरुले गाउन थाले “ईशावास्य मिदंसर्वं यत्किञ्च जगत्यां जगत् ।” (संसारमा जे जति छ स्वतः ईश्वरमा छ ।) यसै सोचले नै उपनिषद्कालीन दार्शनिक आन्दोलनलाई अघि बढायो । यही चिन्तन अझअघि बढेर केही सगुणपक्ष भएको इश्वरभन्दा पनि माथि निर्गुण ब्रह्मको चिन्तन आयो र ‘सर्ब ब्रह्ममयं जगत्’ को उद्घोष भयो ।

उपनिषद्काल अध्यात्मकवादभित्रको वैदिक द्वन्द्व यज्ञमार्गी नयाँ ब्रह्मचिन्तनको बीचमा थियो । अर्को अर्थमा भन्दा यो द्वन्द्व पुरानो चिन्तन आर्थिक व्यवस्था र नयाँ व्यवस्थाका बीचमा दार्शनिक द्वन्द्व थियो ।

त्यस कालमा मानव चिन्तनका अर्का पक्षमा भौतिक वा लोकायतिक धारा पनि समानान्तर रुपले आइरहेको थियो । त्यस विचारले पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, नरक, इश्वर ब्रह्म आदि कुनै कुराको अस्तित्व स्वीकार्दैनथ्यो । त्यसले प्राकृतिक नियमले भौतिक तत्वबाटै सृष्टि, विकास र विनाश हुन्छ भन्थ्यो । यी दुई खेमाका विचारहरुको द्वन्द्वले नै मानव चिन्तनले निरन्त। प्रगति गरेको हो । यी दुई विचारको कडा टक्कर हुँदा गौतम बुद्धले बीचको बाटो (मध्य मार्ग) अघि सारेर सामाजिक सुधारको आनदोलन अघि बढाए । त्यो कति प्रभावशाली थियो भन्ने कुरा त्यसको आजसम्मको लोकप्रियताले पनि देखाएको छ । बौद्ध र जैन चिन्तनका प्रभावले कट्टर पुराना वैदिक मार्गीहरु र वर्ण व्यवस्था (जातपात छुवाछूत) का समर्थकहरु पनि केही धार्मिक सुधार गर्न बाध्य भए । त्यसबेला वर्ग व्यवस्थालाई निकै लचिलो रुपमा प्रस्तुत गर्न थालियो । वैदिक कालदेखि बाहिरकालाई पनि वर्णव्यवस्थामा सामेल गर्न थालियो । यसबाट वैदिक धर्मका मार्गमा धेरै सुधारहरु भए ।

अर्का चरणमा पुग्दा बुद्ध विचार र लोकायति विचारहरुका विरुद्ध कट्टरतावादीहरु संगठीत भएर अघिसरे । आफ्नो उद्गम भूमिमा बौद्ध दर्शन र धर्म शिथिल हुन थाल्यो तर त्यो बाहिरी मुलुकमा बढ्दै गयो । त्यसपछि धर्म र कर्मकाण्डमा नयाँ नयाँ रुढि थपिदै गए । अझ मुसलमानी आक्रमणपछि त वैदिक धर्म र कर्मकाण्डमा तन्त्रमन्त्र र पूजा–पाठका यति धेरै जटिलता थपिदै गए कि तिनलाई बुझ्न र विश्लेषण गर्न पनि निकै गाह्रो छ । सम्पूर्ण मध्ययुग धर्म कर्मकाण्डका यिनै जटिलता र संकीर्णंताको युग थियो ।

त्यसबेला नेपाल र भारततिर मात्र हैन यूरोप र अरब क्षेत्रका ईसाई र इस्लामी धर्महरमा पनि त्यस्तै कट्टरता, संकीर्णता र जटिल कर्मकाण्डहरु बढेका थिए । त्यसैले पुरानो संकीर्ण ईसाई क्याथोलिक धर्ममा सुधार आन्दोलन चल्यो र सुधारवादी प्रोटेस्टेन्ट धर्म संघर्षमा उत्रियो । इस्लाममा पनि सम्राट अकबर आदि जस्ता व्यक्तिहरुले धर्म सुधारमा जोड दिए ।

अहिले हामी वैदिक धर्मको पछिल्लो चरण (जसलाई अहिले हिन्दू धर्म भनिन्छ) मा छौँ । अहिलेको विश्व विज्ञानको चारम उत्कर्षको युगमा छौँ । मध्ययुगीन धार्मिक कट्टरता र संकीर्णता समाजको विकासमा बाधक बन्न थालेको छ । अहिले भारत, नेपाल र वरपरका केही मुलुकमा बाहेक विश्वका विकसित कुनैपनि मुलुकमा जातपात छुवाछूतको भेद छैन । यही जातपात, ऊचनीच, छुवाछूत र कट्टर संकीर्णताका कारणले भारत र नेपालतिर ईसाई र इस्लामी विचारहरुले फैलने आधार पाएका हुन् । अहिले त्यो विस्तार झन् बढ्दो छ । यदि हिन्दू धर्मले आफूमा मर्याप्त सुधार गर्न सकेन भने त्यसले आफूलाई क्रमशः खतम गर्दै लैजानेछ र त्यस ठाउँमा बाहिरी धर्महरुको हैकम कायम हुनेछ ।

यसै स्थितिलाई ध्यानमा राखी विग शताब्दीमा ब्रह्म समाज, आर्य समाज आदि जस्ता धार्मिक सुधारका आन्दोलन चलेका हुन् । मानवता, मानव अधिकार, कानूनी समानता, आर्थिक, स्वतन्त्रता, जातीय भेद र लैङ्गिक भेदको विरोध जस्ता आन्दोलन यसै स्थितिका उब्जनी हुन् । विज्ञान, प्रविधि र शिक्षाको विकास व्यापक रुपले भएकाले र विश्वको औद्योगिक क्रान्ति धेरै अगाडि बढेकोले अब कर्मकाण्डका पुराना जटिलता, जातपात, छुवाछूतजस्ता भेदभाव मान्दै जाँदा हामं्रो मुलुक विश्वका सबै मुलुकको दाँजोमा धेरै पछि पर्ने कुरा प्रस्ट छ । त्यसैले धार्मिक क्षेत्रमा लागेका अगुवा, चिन्तक, विद्वान र सुधारवादी बुद्धिजीवीहरुले जागरुक र संगठीत भएर हाम्रा देशमा प्रचलित पुराना रितिथिति, धर्म, संस्कार र कर्मकाण्डहरुमा समय सुहाउँदा सुधार परिवर्तन गर्न आवश्यक छ । आजको युगमा मानिसको व्यस्तता र गतिशीलताले गर्दा जटिल र लम्बेतान कर्मकाण्ड र धार्मिक रीति रिवाजमा पहिलेजस्तो पर्याप्त समय दिन मानिसलाई फुर्सद छैन । त्यसैले अहिलेका स्थितिमा हिन्दू र कर्मकाण्ड धर्ममा निम्न खाले सुधारहरु गर्न आवश्यक छ ।

१. वैदिक धर्मको आदर्श “उदार चरितानाम्तु बसुधैब कुटुम्बकम्” (उदारचरित्र हुनेहरुका लागि संसार नै एउटा परिवार) हो । त्यसैले मानवका बीचमा जातपात, छुवाछूत जस्ता भेदभाव देखिएका छन् ती वैदिक आदर्श अनुरुप छैनन् । स्वार्थी दासमालिक र सामन्तहरुले यस्ता भेदभाव र मानवघृणा जन्माएका हुन् । यी कुराहरुलाई समाजबाट सदाका लागि विदा गर्नुपर्छ र विद्वान्हरुले सबै मान्छेसँग समान व्यवहार गर्ने गर्नुपर्दछ ।

२. वैदिक समाजमा पुरुष र नारीका बीचमा आजजस्तो भेदभाव (स्वामी र दासीको भावना) थिएन । वैदिक आदर्श थियो “समाहमस्मि ऋक्त्वम् द्यौरहं पृथ्वी त्वम्” हे नारी ! म साम (संगीत) हुँ तिमी ऋक् (गीत) औ म आकाश हुँ तिमी पृथ्वी हौ । सामन्तवादी युगमा कहाँ गयो त्यो आदर्श ? त्यसैले वैदिक परम्पराको हिन्दूधर्मले आफ्नो मूल वैदिक आदर्श (जुन आजको युग सुहाउँदो छ) लाई नै बलियासित समाजमा लागू गर्नुपर्छ ।्

३. हाम्रा पूर्वजहरु उद्यमी थिए, मिहिनेती थिए । उनीहरुले ज्योतिष विज्ञान, आयुर्वेद विज्ञान, दर्शन शास्त्र, संगीत, कला, कृषि, शिल्प, उद्योग आदि सबै क्षेत्रमा आफ्नो समयअनुरुप ठूलो प्रगति गरेका थिए । उनीहरु भाग्यवादी, रुढीवादी भएका भए त्यस्तो प्रगति गर्न सक्ने थिएनन् । समाजमा शोषण दोहन बढ्दै गएपछि शोषक धनाढ््यहरुले भाग्यवादको प्रचार गरेका हुन् । आजको औद्योगिक युगमा भाग्यावादलाई पन्छाएर कर्मयोगी उद्योगवादका पक्षमा लाग्ने अभियान चलाउनुपर्छ ।

४. हिजोको युग तन्त्र र मन्त्रसित गाँसिएको थियो । आजको युग विज्ञान र प्रविधिसित गाँसिएको छ । हिजो तन्त्रमन्त्रमा जेलिँदा जेलिँदा हजारौँ खालका बुझिनसकिने कर्मकाण्डहरु बने । त्यही जटिल कर्मकाण्डको वास्तविक अर्थ र उद्देश्य के हो भनेर बुझ्नेसम्म कुनै विद्वन् आज हाम्रबीच छैन । जतिखेर मानवका निम्ति प्राकृतिक नियमहरु या रहस्यहरु बुझिनसक्नु थिए, ती दैवी चमत्कारका रुपमा थिए । त्यसबेला मान्छेले बादल, चट्याङ, पहिरो, बाढी, रोग, ग्रहणजस्ता कुराको भेउ पाउन नसकी तिनका समाधानमा तन्त्रमन्त्र र कर्मकाण्डको विशाल श्रृङ्खला बनाए । उनीहरुले मन्त्रले वर्षा गराउने, चट््ययाङ् रोक्ने, बाढी पहिरो आउन नदिने, रोग भगाउने, हिंस्रक तन्तुलाई तन्त्रले नियन्त्रण गर्नेजस्ता कल्पना गरेर काम गर्थेः तर अहिले प्राकृतिका ती सबै रहस्यहरुलाई मान्छेले पत्ता लगाइसकेको छ । त्यसैले आजको वैज्ञानिक युग सुहाउने कर्मकाण्डहरुको विकास गर्नुपर्छ ।

यदि आजको समयअनुरुप धर्मकर्मका क्षेत्रमा सुधार गरिएन; त्यासो गर्न हाम्रो धार्मिक विद्वत् समाज तयार भएन र मध्ययुगका संस्कारहरुमै टाँसिएर बस्न चाह्यो भने धर्म र कर्मकाण्डप्रति जनताको अनास्था जगाउने काम र साम्राज्यवादी स्वार्थले विदेशी धर्म फैलाउनेहरुलाई हाम्रा राष्ट्रभित्र फैलिएर मण्डल मार्न प्रेरित गर्नै कामको सजायभोगी त्यही विद्वत् समाज हुनुपर्नेछ

No comments:

Post a Comment